जुम्ला । जुम्लामा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।
कनकासुन्दरी गाउँपालिकाको मतगणना सकिँदा प्रारम्भिक परिणामले शाहीलाई स्पष्ट रूपमा अगाडि देखाएको छ।
कनकासुन्दरी गाउँपालिकाको सम्पूर्ण मत अर्थात् हालसम्म ५ हजार ५९ मत गणना हुँदा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाहीले २ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नरेश भण्डारीले १ हजार २ सय ३३ मत प्राप्त गरेका छन्।
यससँगै शाहीले १ हजार ४ सय ५८ मतको फराकिलो अग्रता लिएका छन्।
मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारले ६ सय ५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवारले २ सय ८१ मत पाएका छन्। अन्य प्रतिस्पर्धीमध्ये घण्टी चुनाव चिन्हले ३६ मत, आँखा चिन्हले ८ मत, मादल चिन्हले ४३ मत तथा कमलको फूल चिन्हले ५ मत प्राप्त गरेका छन्।
मतगणनाका क्रममा १ सय ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
कनकासुन्दरी गाउँपालिकाको मतगणना सम्पन्न भएसँगै प्रारम्भिक परिणामले राप्रपाको ‘हलो’ चुनाव चिन्हलाई मजबुत अग्रता दिलाएको देखिएको छ। निर्वाचन कार्यालयका अनुसार अब जुम्लाको एक नगरपालिका सहित ६ वटा गाउँपालिकाको मतगणना गर्न बाँकी छ।
बाँकी क्षेत्रको मतगणना सकिएपछि मात्र अन्तिम परिणाम सार्वजनिक गरिनेछ। प्रारम्भिक नतिजाले भने जुम्लामा राप्रपा उम्मेदवार शाहीको चुनावी स्थिति बलियो देखाएको छ।
समर्थकहरूबिच उत्साह बढेको छ भने अन्य दलहरू पनि बाँकी मतगणनाबाट परिणाम उल्टिने सम्भावना रहेको भन्दै आशावादी देखिएका छन्।
मतगणना कार्य कडा सुरक्षा व्यवस्थाबिच निरन्तर जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com