gcrajesh8@gmail.com

इरानी जलसेनामाथि अमेरिका र इजरायलको आक्रमण : कम्तीमा ११ वटा नौसैनिक जहाजहरू ध्वस्त

तेहरान । अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानी जलसेनालाई ठुलो क्षति पुर्‍याएको छ। बीबीसी भेरिफाईले विश्लेषण गरेका नयाँ स्याटेलाइट तस्बिरहरूका अनुसार शनिबारदेखि जारी आक्रमणमा इरानका कम्तीमा ११ वटा नौसैनिक जहाजहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन्। 

इरानी जलसेनाको मुख्यालय रहेको बन्दर अब्बास र कोनारक नौसैनिक अड्डामा भएका विस्फोटपछि जहाजहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जलसेनालाई ध्वस्त पार्ने घोषणा गर्दै यसलाई अमेरिकाको मुख्य तीन लक्ष्यमध्ये एक बताएका छन्।

यस आक्रमणमा इरानको सबैभन्दा ठुलो युद्धपोत आईआरआईएनएस मकरान पूर्ण रूपमा ध्वस्त भएको छ, जसलाई इरानले ड्रोन वाहकका रूपमा प्रयोग गर्दै आएको थियो। यस्तै, भ्यागार्ड र मायर जस्ता गुप्तचर संस्थाहरूले आईआरआईएस बायान्डोर, नघदी र जमरान जस्ता प्रमुख युद्धपोतहरू पनि डुबेको वा काम नलाग्ने गरी बिग्रिएको पुष्टि गरेका छन्। 

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानको सबैभन्दा सक्रिय पनडुब्बीसहित १७ वटा जहाजहरू नष्ट भइसकेका छन् र अहिले खाडी क्षेत्रमा एउटै पनि इरानी जहाज सञ्चालनमा छैनन्।


आक्रमण जलसेनामा मात्र सीमित नभई इरानका मिसाइल बेस र आणविक केन्द्रहरूमा पनि केन्द्रित छ। खोरगु, तब्रिज र कोनारकस्थित मिसाइल भण्डारण केन्द्रहरूका साथै केरमानशाहको ड्रोन अड्डामा व्यापक क्षति पुगेको छ। इरानको आणविक कार्यक्रमको मुटु मानिने नातान्जका सुविधाहरूलाई पनि निशाना बनाइएको छ। यद्यपि, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले भने जमिनमुनिको संवर्द्धन केन्द्र जाने बाटोमा क्षति पुगेको भए पनि तत्काल रेडियोधर्मी विकिरणको खतरा नरहेको जनाएको छ।

इजरायली आक्रमणले राजधानी तेहरानस्थित इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको मुख्यालय, राष्ट्रिय रक्षा विश्वविद्यालय र गुप्तचर मन्त्रालयका भवनहरूमा पनि क्षति पुर्‍याएको छ। पूर्व सैन्य अधिकारीहरूका अनुसार यी हमलाहरू इरानी शासनको आन्तरिक सुरक्षा संयन्त्र र नागरिक नियन्त्रण गर्ने क्षमतालाई कमजोर बनाउन केन्द्रित छन्। 

यसैबिच, द्वन्द्वका कारण मानवीय सङ्कट पनि गहिरिँदै गएको छ। मानवअधिकारवादी संस्थाहरूका अनुसार शनिबारयता कम्तीमा १,०९७ नागरिकको मृत्यु भइसकेको छ, जसमा दक्षिण इरानको मिनाबस्थित विद्यालयमा भएको आक्रमणमा मारिएका बालबालिकाहरू समेत सामेल छन्। एजेन्सी

प्रतिक्रिया