gcrajesh8@gmail.com

प्रतिनिधिसभा निर्वाचन : मकवानपुरका ३ लाख १५ हजार मतदाता आज मतदान गर्दै

हेटौंडा । आज देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै गर्दा मकवानपुर जिल्लामा पनि मतदाता उत्साहपूर्वक मतदानमा सहभागी हुँदै छन् । जिल्लाभर कडा सुरक्षा व्यवस्थासहित मतदानको तयारी पूरा भएको छ ।

मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । उनीहरूलाई सुरक्षित र सहज रूपमा मतदान गर्न चारवटै सुरक्षा निकायका करिब ४ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् । जसमा ७९ हजार ६२१ पुरुष, ७८ हजार ८१० महिला र ४ अन्य मतदाता रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । यस क्षेत्रमा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र १ अन्य मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।

जिल्लाका मतदान केन्द्रहरूको व्यवस्था पनि व्यापक रूपमा गरिएको छ । ४० वटा वडा रहेको क्षेत्र नम्बर १ मा ६२ मतदान स्थल अन्तर्गत १७८ मतदान केन्द्र रहेका छन् । त्यसैगरी ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ मतदान स्थल अन्तर्गत १९६ मतदान केन्द्र तोकिएका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालका अनुसार यी केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा कैदीबन्दीका लागि तथा सरकारी कर्मचारीका लागि हेटौँडामा अस्थायी मतदान केन्द्र समेत व्यवस्था गरिएको छ ।

आजको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन प्रशासनले सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ ।

प्रतिक्रिया