पोखरा । नेपालको संसदीय राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै २६ वर्षीय मनिष खनाल सांसदमा निर्वाचित भएका छन्। जेनजी आन्दोलनका अगुवा रूपमा परिचित खनाल आन्दोलनपछि सम्पन्न निर्वाचनबाट संसदमा प्रवेश गर्न सफल भएका हुन्।
गण्डकी प्रदेशकै कान्छा उम्मेदवारका रूपमा चर्चामा रहेका उनले ४१ हजार ३ सय ४७ मत प्राप्त गर्दै फराकिलो जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का तिलक महत ले १५ हजार ७ सय ५५ मत प्राप्त गरे। यसरी खनालले करिब २५ हजार ५ सय ९२ मतान्तरले विजय हासिल गरेका हुन्। नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती भने १४ हजार ७ सय १३ मतमा सीमित भए।
अघिल्ला निर्वाचनहरूमा एमाले र कांग्रेसको पालैपालो जित हुँदै आएको नवलपुर–२ मा यसपटक खनालले पुराना दलको प्रभाव तोड्दै नयाँ शक्ति स्थापित गरेका छन्।
नवलपुरका स्थायी बासिन्दा खनाल पेशाले अधिवक्ता तथा शिक्षक हुन्। भदौ २३ मा भएको जेनजी आन्दोलनमा उनी अग्रपंक्तिमा देखिएका थिए। नेपाल जेनजी फ्रन्टका संवाद समिति संयोजक रहेका उनले सरकार र आन्दोलनरत पक्षबीच भएको सम्झौताको मस्यौदा तयार पार्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए।
यसअघि उनले संघीय सांसद असीम शाहको सचिवालय प्रमुखका रूपमा काम गरेका थिए। युवा तथा खेलकुद मन्त्रालयमा परामर्शदाताका रूपमा समेत उनले राष्ट्रिय खेलकुद विकास ऐन संशोधन प्रक्रियामा योगदान दिएका छन्। नवलपुरकै सामुदायिक विद्यालयबाट २०७२ सालमा एसएलसी उत्तीर्ण गरेका खनाल २०७३ देखि विवेकशील नेपाली दलमार्फत सक्रिय राजनीतिमा लागेका थिए।
सांसदमा निर्वाचित भएपछि खनालले आफ्नो कार्यकाल जेनजी आन्दोलनका मागहरूलाई संस्थागत गर्दै युवा अपेक्षालाई नीतिमा रूपान्तरण गर्न केन्द्रित गर्ने बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com