gcrajesh8@gmail.com

सङ्खुवासभामा ५ ठाउँबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइँदै

सङ्खुवासभा । सङ्खुवासभामा मतगणना मतपेटिका आइपुगे आज साँझदेखि मात्र सुरु हुने भएको छ । जिल्लाका दुर्गम मतदान केन्द्रहरूबाट मतपेटिका सङ्कलन गर्ने कार्य जारी रहेकाले मतगणना सुरु हुन समय लाग्ने भएको हो ।

मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार जिल्लाका अति दुर्गम ५ वटा मतदान केन्द्रहरूबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी भइरहेको छ । 

किमाथान्का, थुदाम, रिदाक, गौथला र चाम्पेकका मतपेटिकाहरू हेलिकप्टरबाट ल्याइने उनले जानकारी दिए । यी मतपेटिकाहरू आज दिउँसो १२ बजेसम्ममा सदरमुकाम खाँदबारी आइपुग्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, हटिया, हुङगुङ, चेपुवा र च्याम्ताङका मतपेटिकाहरू भने सडक मार्ग र पैदल हिँडाएर ल्याइँदैछ । ‘यी ४ ठाउँका मतपेटिकाहरू कतै गाडीमा र कतै मान्छेले बोकेर ल्याउँदैछन्, जुन आज अपराह्न ४ बजेसम्म आइपुग्नेछन्,’ मुख्य निर्वाचन अधिकृत कोइरालाले भने । 

सबै क्षेत्रका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बोलाइनेछ । उक्त बैठकमा राजनीतिक दलहरूबिच हुने सहमति र कार्यविधि तय भए लगत्तै मतगणना सुरु गरिने उनको भनाइ छ ।

प्रतिक्रिया