gcrajesh8@gmail.com

मकवानपुरका दुवै क्षेत्रमा रास्वपा उम्मेदवारको अग्रता

मकवानपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता कायम गरेका छन्। जारी मतगणनाको प्राप्त विवरणअनुसार मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम र मकवानपुर–२ मा प्रशान्त उप्रेतीले प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अग्रता बनाएका हुन्।

मकवानपुर–१ मा गौतमले सुरुवाती मतगणनादेखि नै निरन्तर अग्रता कायम राखेका छन्। हालसम्म हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर २, ४, ५, ६, ७, ८, ९ र १० को मतगणना सकिँदासम्म गौतमले १९ हजार २३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर रानाले ३ हजार ९९९ मत प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २ हजार ३७६ मत ल्याएका छन्। नेकपाका उम्मेदवार विजय गौतमले १ हजार १६१ मत प्राप्त गरेका छन्।

यता मकवानपुर–२ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन्। हालसम्म मनहरी गाउँपालिकाका सबै वडा तथा थाहा नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ को मतगणना सम्पन्न हुँदासम्म उप्रेतीले ११ हजार ९३३ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले ५ हजार ७८६ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले ५ हजार ६४३ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामा ५ हजार २९ मतसहित चौथो स्थानमा रहेका छन्।

प्रतिक्रिया