gcrajesh8@gmail.com

हेटौंडाको मतगणनास्थलमा तारजालीसहित सीसीटीभी जडान

मकवानपुर । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ।

भुटनदेवी माविको भवनमा मतगणना गर्न लागिएको यो पहिलो पटक हो। यसअघि मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माविमा मतगणना गरिँदै आएको थियो।

मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना भुटनदेवी माविका कोठामा गर्न लागिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले बताइन्। मतगणनाका लागि चार वटा कोठा तयार पारिएको छ।

मतगणना स्थललाई तारजालीले सुरक्षित गरी सीसीटिभी जडान गरिएको छ। दलका प्रतिनिधिलाई तारजालीबाहिर बस्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।

मतगणनास्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ। मतगणनाको समयमा हुन सक्ने अराजक गतिविधि नियन्त्रणका लागि व्यवस्थित पारिएको उनले जानकारी दिए।

दुवै निर्वाचन क्षेत्रका मतगणना स्थलमा एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने बताइएको छ।सञ्चारकर्मीहरूका लागि भुटनदेवी स्कुलमै मिडिया सेन्टर पनि राखिएको छ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।

सम्बन्धित मतदान केन्द्रमा पुगेका कर्मचारीहरूले चौकीला तोकेर सर्वदलीय बैठक राखी बुथ बनाउने काम गरिरहेका छन्। मतदानपश्चात मतपेटिका ढुवानीका लागि सवारी साधनको समेत व्यवस्था गरिसकेको निर्वाचन कार्यालयले जनाएको छ।

मकवानपुरका बिकट गाउँबाट मतपेटिकाहरू हेटौंडा ल्याउन बढीमा चार घण्टा लाग्ने अनुमान गरिएको छ। दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल छन्। ३७४ वटा मतदान केन्द्र छन्।

मकवानपुरमा मतदाता तीन लाख १५ हजार ३३४ रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ तथा क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन्। : कान्तिपुर

प्रतिक्रिया