१९ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसमेत मारिने गरी आक्रमण गरेको केही घण्टामै इरानले मध्यपूर्वका कैयौँ इस्लामिक देशहरूमा हमला थालेको छ ।
इरानविरुद्ध अमेरिका–इजरायलको संयुक्त कारबाहीमा सहयोग गरेको ठहर गर्दै इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले आफ्नो विज्ञप्तिमा ‘ट्रुथफुल प्रोमिस–४’ अभियानअन्तर्गत अमेरिका–इजरायलका आक्रमणको प्रतिकारस्वरूप अमेरिकी अड्डा र सम्पत्तिलाई निशाना बनाइरहेको जनाएको छ ।
आईआरजीसीका अनुसार इरानले निशाना बनाएका देशहरूमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, कुवेत र जोर्डन समावेश छन् ।
अमेरिका र इजरायलले इरानमाथि निरन्तर आक्रमण गरिरहेकाले त्यसको जवाफस्वरूप इरानले पनि हमला सुरु गरेको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले आत्मरक्षाका लागि सबै सैन्य उपाय प्रयोग गर्ने बताएका छन् ।
यी घटनापछि मध्यपूर्वको अवस्था झन् गम्भीर बनेको छ र क्षेत्रीय स्थिरताबारे चिन्ता बढेको छ । साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्राकृतिक ग्याँसको मूल्य आकासिएको छ ।
युएईमा भएको आक्रमणमा एक नेपाली र एक भारतीयको समेत मृत्यु भएपछि वैदेशिक रोजगारीमा रहेका लाखौं प्रवासीको सुरक्षाबारे चिन्ता बढेको छ ।
यूएईमा नेपाली र ओमानमा भारतीय मारिए
इरानका आक्रमणपछि यूएईका दुबई र अबुधाबी विमानस्थलमा एक जनाको मृत्यु भएको र ११ जना घाइते भएको जनाइएको छ ।
युएईको आबुधाबीका अधिकारीहरूले जायद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी प्रहार गरेको एक ड्रोनलाई बीचमै खसालिएको पुष्टि गरेका छन् तर खसेको भग्नावशेषका कारण एक जनाको मृत्यु र सात जना घाइते भए ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रु संख्याका हिसाबले विश्वकै सबैभन्दा व्यस्त विमानस्थल मानिन्छ । उक्त आक्रमणमा त्यहाँ पनि क्षति पुगेको र चार कर्मचारी घाइते भएको जनाइएको छ ।
यसैगरी ओमानको खाडीमा एक तेल ट्यांकरमाथि ड्रोन आक्रमण हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ओमानको मस्कटस्थित भारतीय दूतावासले सामाजिक सन्जाल प्लेटफर्म एक्समार्फत् भारतीय नागरिकको मृत्यु भएको जानकारी दिएको हो ।
खाडी मुलुकहरुमा इरानको लगातार आक्रमणका कारण मध्यपूर्वको आकाश हुँदै आवतजावत गर्ने हजारौं उडानहरू रद्द वा स्थगित गरिएका छन् । आइतबार, १ मार्चमा पनि इरानले प्रतिआक्रमण जारी राख्यो । दोहा, दुबई तथा मनामामा विस्फोटको आवाज सुनिएको थियो ।
इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गर्दै खाडी क्षेत्रमा अमेरिकाका सहयोगी देश र अड्डाहरूमा व्यापक आक्रमण गरेको छ ।
यसबीच कतार, बहराइन, जोर्डन र कुवेतले आफ्नोतर्फ प्रहार गरिएका मिसाइलहरू अवरुद्ध गरेको दाबी गरेका छन्, तर खसेका भग्नावशेषका कारण ठूलो क्षति पुगेको बताएका छन् । ती देशहरूमा अमेरिकी सैन्य अड्डा रहेका छन् ।
दुबईमा पनि एक हवाई आक्रमण रोक्ने क्रममा खसेको भग्नावशेषका कारण जेबेल अली समुद्री बन्दरगाहको एक भागमा आगलागी भएको थियो । यो विश्वकै नवौँ सबैभन्दा व्यस्त बन्दरगाह मानिन्छ ।
बहराइनको गृहमन्त्रालयले ड्रोन आक्रमणका कारण त्यहाँको विमानस्थलमा क्षति पुगेको जनाएको छ । आइतबार बिहान पनि यस्ता आक्रमणको अपुष्ट समाचार आएका थिए ।
शनिबार आईआरजीसीले बहराइनको राजधानी मनामामा अवस्थित अमेरिकी नौसेनाको पाँचौँ डफ्फाको मुख्यालयमा हमला गरेको दाबी गरेको थियो । उक्त क्षेत्रबाट कालो धुवाँका ठूला मुस्लाहरू उठिरहेको देखिएको थियो ।
यसैगरी ओमानको सरकारी समाचार एजेन्सीले दुक्मको व्यावसायिक बन्दरगाहमा दुई ड्रोन खसेर एक कर्मचारी घाइते भएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com