काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनका दुई महत्वपूर्ण संयोगसँग जोडिएको दिन भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उक्त दिन आफूले कहिल्यै नबिर्सने बताएका हुन् ।
ओलीले लेखेका छन्, “आज मेरो जीवनका दुई संयोगहरू भएको दिन हो । आज सुखानी शहीद दिवस हो, भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।”
उनका अनुसार यी दुवै घटना आफ्नो जीवनमा पुनर्जीवन प्राप्त गरेको दिनजस्तै भएको उल्लेख गरेका छन् । “यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्,” उनले लेखेका छन् ।
ओलीले झापा आन्दोलनका क्रममा निरंकुश व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण पनि गरेका छन् । उनले त्यस क्रममा आफूहरूलाई जेल हालिएको र आन्दोलनका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको उल्लेख गरेका छन् ।
त्यतिबेला आफू पनि मृत्युको मुखबाट फर्किएको र त्यसपछि १४ वर्ष कठोर कारावास भोग्नुपरेको उनले स्मरण गरेका छन् ।
ओलीले देशमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिएका शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै फागुन २१ आफ्नो जीवनमा कहिल्यै नबिर्सने दिन भएको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com