gcrajesh8@gmail.com

कमजोर नतिजाबीच पनि सातै प्रदेशमा कांग्रेसको उपस्थिति

मकवानपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा नेपाली कांग्रेसले अपेक्षाअनुसारको परिणाम निकाल्न सकेको छैन। अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ५७ सिट जित्दै पहिलो दल बनेको कांग्रेस यसपटक भने निकै कमजोर अवस्थामा देखिएको छ। हालसम्मको मतपरिणाम अनुसार कांग्रेसले जम्मा १४ सिटमा जित हात पारेको छ भने केही स्थानमा मात्र अग्रता कायम गरेको छ।

देशभरबाट आएको पछिल्लो परिणामले कांग्रेस नेतृत्वलाई झस्काएको छ। ‘रुख’ चुनाव चिन्हमा खस्ने मत उल्लेख्य रूपमा घटेको र पार्टीका परम्परागत गढहरू समेत भत्किएको नतिजाले देखाएको छ।

तर कमजोर परिणामका बीच पनि कांग्रेसले भौगोलिक उपस्थितिको हिसाबले भने सन्तुलन कायम राख्न सफल भएको छ। कम सङ्ख्यामा भए पनि सातै प्रदेशबाट प्रतिनिधित्व कायम राख्दै पार्टीले आफ्नो उपस्थिति जोगाएको हो।

हालसम्मको नतिजाअनुसार कोशी प्रदेशबाट ३ सिट, मधेसबाट १ सिट, बागमतीबाट १ सिट, गण्डकीबाट २ सिट, लुम्बिनीबाट १ सिट, कर्णालीबाट ४ सिट र सुदूरपश्चिमबाट २ सिट कांग्रेसको पक्षमा परेको छ।

कोशी प्रदेशमा पाँचथर–१ बाट नरेन्द्रकुमार केरुङ र तेह्रथुम–१ बाट सन्तोष सुब्बा निर्वाचित भएका छन्। मधेस प्रदेशमा पार्टीलाई ठूलो धक्का लागे पनि रौतहट–२ बाट मोहम्मद फिरदोस आलम विजयी हुँदै कांग्रेसको प्रतिनिधित्व जोगाएका छन्।

बागमती प्रदेशमा रसुवा–१ बाट मोहन आचार्यले जित हासिल गरेका छन्। गण्डकी प्रदेशका हिमाली जिल्लामा कांग्रेसको प्रभाव कायम रहँदा मुस्ताङबाट २९ वर्षीय युवा योगेश गौचन थकाली र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशमा कपिलवस्तु–३ बाट अभिषेक प्रताप शाह र पाल्पा–१ बाट सन्दीप राना विजयी भएका छन्।

कर्णाली प्रदेशमा भने कांग्रेस अपेक्षाकृत बलियो देखिएको छ। सुर्खेत–१ बाट विष्णुबहादुर खड्का, जाजरकोट–१ बाट खडकबहादुर बुढा, दैलेख–१ बाट वासना थापा र हुम्ला–१ बाट जयपति रोकाया निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा डोटी–१ बाट भरतबहादुर खड्का र अछाम–१ बाट भरतकुमार स्वार विजयी भएका छन्। यसबाहेक जारी मतगणनामा सोलुखुम्बु र बाजुरामा कांग्रेसले अग्रता कायम राखेको छ।

प्रतिक्रिया