मकवानपुर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पेनसँगका सबै खाले व्यापार सम्बन्ध भंग गर्ने धम्की दिएका छन्।
इरानमाथि गरेको आक्रमणमा अमेरिका र इजरायलको समर्थन नगरेको भन्दै उनी आक्रोशित भएका हुन्। साथै स्पेनले जीडीपीको ५ प्रतिशत रकम नेटोलाई दिनुपर्ने आफ्नो माग अस्वीकार गरेको भन्दै उनले यस्तो घोषणा गरेका हुन्।
ट्रम्पले जर्मन चान्सलर फ्रेडरिक मर्जका साथ वासिङटनमा बसेको बैठकपछि यस्तो बताएका हुन्। ट्रम्पले भने, हामी स्पेनसँग सबै खाले व्यापारिक सम्बन्ध तोड्दै छौँ। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ।
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य अखडा इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गरेका थिए।
स्पेनका विदेशमन्त्री होसे म्यानुएल अल्बारेसले आफ्नो देशले संयुक्त राज्य अमेरिकालाई दक्षिणी स्पेनमा रहेका संयुक्त सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति नदिने बताएका थिए।
उनले संयुक्त राष्ट्रसंघको अनुमोदन नभएका कुनै पनि आक्रमणका लागि आफ्नो सैन्य अड्डा प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।
सान्चेजले भने, “हामी यस आक्रमणको विरोध गर्छौं।” उनले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकसँग रहेको बताएका थिए।
ती कसैले पनि थप युद्ध वा अनिश्चितता नचाहेको र आफू त्यसको पक्षमा रहेको स्पष्ट पारेका थिए। स्पेनको रोता नौसेना अखडा र मोरोन हवाई आधार अमेरिकी सेनाको प्रयोगमा छ।
ट्रम्पले धम्की दिँदैमा अमेरिका र स्पेनबीचको व्यापार कसरी रोकिन्छ भन्ने स्पष्ट हुँदैन। स्पेन युरोपेली संघ (ईयू) को सदस्य हो। ईयूले अमेरिकासँग स्पेन लगायतका सबै २७ सदस्य राष्ट्रहरूका तर्फबाट व्यापार सम्झौतामा वार्ता गर्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com