gcrajesh8@gmail.com

लोकतन्त्र सुदृढ बनाउन स्वच्छ निर्वाचन आवश्यक : मुख्यमन्त्री बानियाँ

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका–१८ स्थित दमनचौर मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन आवश्यक रहेको बताए । उनले नागरिकलाई निर्भीक रूपमा मतदानमा सहभागी हुन आग्रहसमेत गरे ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार जिल्लाभरका ३७४ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई नियमित रूपमा जारी रहेको छ ।

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान केन्द्रहरूमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ । साथै अपाङ्गता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गराउने व्यवस्था गरिएको छ ।

मकवानपुरमा १६७ मतदान स्थलमा ३७४ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये १९ मतदान स्थल अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

जिल्लामा दुई अस्थायी मतदान केन्द्र पनि तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर र भीमफेदी गाउँपालिका स्थित भीमफेदी कारागारमा अस्थायी मतदान केन्द्र व्यवस्था गरिएको छ ।

भीमफेदी कारागारका प्रमुख सुवास पौडेलका अनुसार कारागारमा रहेका ९९५ कैदीबन्दीमध्ये १६२ जनाको नाम मतदाता नामावलीमा समावेश रहेको छ ।

मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जसमा १ लाख ६१ हजार ९५३ पुरुष, १ लाख ५३ हजार ३७६ महिला र अन्य ५ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया