gcrajesh8@gmail.com

देशभर प्रारम्भिक मतपरिणाम आउन थाले, रास्वपाको उत्साहजनक अग्रता

मकवानपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएसँगै देशभर प्रारम्भिक मतपरिणाम आउने क्रम जारी रहेको छ।

कतिपय स्थानमा मतपेटिका संकलन ढिला भएका कारण धेरै निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेको छैन। तर काठमाडौं उपत्यकाभित्रका केही निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भई प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन्।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयहरूबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान करिब साढे ३ बजेसम्म देशका १६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये १२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन्। त्यस्तै काठमाडौंका क्षेत्र नम्बर १, ४, ५, ७, ८ र १० मा रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन्।

बाँके क्षेत्र नम्बर १ मा पनि रास्वपाले उल्लेख्य मतान्तरसहित अग्रता कायम गरेको छ। त्यस्तै कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ मा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले नै प्रारम्भिक अग्रता बनाइरहेको देखिएको छ।

यसैबीच नेकपा एमालेका उम्मेदवारहरूले बाँके–२ र भक्तपुर–२ मा अग्रता कायम गरेका छन्। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भने हालसम्म कुनै पनि क्षेत्रमा अग्रता बनाउन सकेका छैनन्।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन्। मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया